गुरु पूर्णिमा केवल एक पर्व होइन, यो त जीवनभरि गुरुहरूप्रति व्यक्त गरिने श्रद्धा, समर्पण र कृतज्ञताको प्रतीक हो। हामीले बाल्यकालदेखि नै विभिन्न रूपका गुरुहरूमार्फत ज्ञान प्राप्त गर्दै आएका छौँ—कहिले आमाबाबु, कहिले शिक्षक, कहिले आत्मा चेतनामा बोल्ने अनुभूति, त कहिले निराकार प्रकृति। वास्तवमा जीवनको प्रत्येक अंश, प्रत्येक पात्र, प्रत्येक अनुभव आफ्नै किसिमको गुरु हो।
जिन्दगी पनि थोपाथोपा मिलेर बनेको समुद्र जस्तै हो। साना–साना घटनाहरू, अनुभवहरू, सम्वादहरू, र भावनाहरू मिलेर जिन्दगीको विशाल समुन्द्र निर्माण हुन्छ। कुनै पनि सागर केवल एकै धारा वा श्रोतले बनेको हुँदैन। त्यहाँ सयौं नदी, साना खोल्सा र अनगिन्ती थोपा मिसिएका हुन्छन्। ठिक त्यस्तै, हाम्रो जीवनमा पनि प्रत्येक दिन, प्रत्येक व्यक्ति, प्रत्येक अवस्था गुरुजस्तै बन्छ, जुन हामीलाई आफूभित्र झुल्काउने ऐना हो। जीवनको प्रारम्भमा हामी बुझ्दैनौँ कि यो सबै कुरा सिकाइको हिस्सा हो। तर जब समय बित्दै जान्छ, उमेर बढ्दै जान्छ, तब हरेक क्षण, हरेक व्यक्तिको महत्त्व प्रस्ट हुँदै जान्छ। हामी मान्छेहरू आदर्श खोज्छौँ। आदर्श व्यक्तिमा ज्ञान, नैतिकता, अनुशासन र प्रेम देख्छौँ। तर आदर्शलाई पूर्णरूपमा पछ्याउनु सधैं सम्भव हुँदैन। किनभने कुनै पनि व्यक्ति पूर्ण हुँदैन, हामी आफैं पनि पूर्ण छैनौं। कहिलेकाहीं हामी आफैं दिग्भ्रमित हुन्छौं, हाम्रो मूल्य–मान्यतामा प्रश्न उठ्छ, अनि हामीले पछ्याइरहेका आदर्शहरूमा पनि कमजोरी देखिन्छ। यसैले गुरु भन्ने केवल कुनै विशिष्ट व्यक्ति मात्र होइन, एउटा सोच, एक प्रेरणा, एक अनुभूति हो। जसले हामीलाई अगाडि बढ्न मद्दत गर्छ।
छोटो बाल्यकालमा हामीलाई लाग्छ गुरु भनेको कक्षाकोठामा पढाउने सर वा मिस हुन्। तर समयसँगै हामी बुझ्दै जान्छौँ कि प्रकृतिको मौनता, आमाको माया, बाबुको पसिना, साथीको विश्वासघात, र सन्नाटामा सुन्ने आफ्नै मनको आवाज पनि गुरु हुन सक्छन्। मानवले लेखेका पुस्तकहरू समेत यही मानवीय कमजोरी र ज्ञानको समष्टि हुन्। ती पुस्तकहरू पनि गुरुकै रूपमा काम गर्छन्। तर तिनिलाई मात्र गुरु मानेर अडिनु हुँदैन। प्रकृति सबैभन्दा मौन तर गहिरो गुरु हो। बग्ने नदीले निरन्तरता सिकाउँछ, मौन आकाशले धैर्य, सूर्यले नियमितता, फूलले निस्वार्थता र नम्रता, आँधीले क्रोधको सीमा सिकाउँछ र वयस्क हुँदै गरेका बालबालिकाले नवनवीन सोचको जन्म दिने क्षमता सिकाउँछन्। ती पाठहरू कुनै किताबमा छैनन्, तर आत्मामा टाँसिने गरी सिकाइरहेका हुन्छन्। अनि बालबालिका—जसलाई हामी ’साना’ ठान्छौं, उनीहरूको निष्कलंक हाँसो, साहसिक जिज्ञासा र सत्य बोल्ने सरलता नै हाम्रो लागि गहिरो शिक्षा हुन्छ।
बालबालिका त एक प्रकारले हाम्रो जीवनका गुरु नै हुन्। उनीहरूको निष्कलंक व्यवहार, निःस्वार्थ प्रेम, सत्य बोल्ने साहसले हामीलाई बारम्बार सिकाइरहेको हुन्छ। उनीहरूलाई हामी शिक्षित गरिरहेका हुन्छौं जस्तो लाग्छ तर वास्तवमा उनीहरूकै साथमा हामी पनि नयाँ सिकिरहेका हुन्छौं। गुरु पूर्णिमाको अवसरमा हामीले जीवनलाई एक गुरुका रूपमा स्वीकार गर्नु आवश्यक छ। किनभने हाम्रो जीवन नै गुरुहरूको समष्टिगत रूपको दीर्घ दृष्टान्त हो। प्रत्येक संघर्ष, असफलता, सफलताका बीचमा एक–एक अनुभूति लुकेको हुन्छ, जुन हाम्रो जीवन शिक्षाको पाठशाला बनिरहेको हुन्छ।अन्ततः गुरु भनेको केवल पाठ पढाउने मात्र होइन, जीवनलाई बुझ्ने, अनुभूति गर्ने, आत्मा स्पर्श गर्ने, र परिवर्तन ल्याउने क्षमता राख्ने स्रोत हो। चाहे त्यो मानव होस्, प्रकृति होस् वा हाम्रो अन्तर आत्मा नै किन नहोस्—गुरुको अस्तित्व हाम्रा प्रत्येक चेतनशील पलमा व्याप्त छ।
यस गुरु पूर्णिमामा सबै गुरुहरू—जीवनका, शिक्षाका, आत्माका र प्रकृतिका प्रति नमन गरौँँ किनभने तिनै गुरुहरूको कारण आज हामी जीवन बुझ्न सक्षम भएका छौँ। जीवन जिउनु भनेको सिकिरहनु हो, र जहाँ सिकाइ हुन्छ, त्यहाँ गुरुत्वको अस्तित्व अवश्य हुन्छ। गुरु पूर्णिमा भनेको केवल श्रद्धा पोख्ने क्षण होइन, यो आत्म प्रतिबिम्बको दिन हो। आफूलाई हेर्ने, आफूलाई सुधार्ने, र आफूभित्रै बसेको गुरु–तत्वलाई पहिचान गर्ने समय हो। हामीलाई पढाउने, हकार्ने, सिकाउने, प्रेम गर्ने, टाढा जाने, चोट दिने सबै मानिसहरू सबै कुनै न कुनै रूपका गुरु नै हुन्।आज, जब हामी गुरु पूर्णिमा मनाउँछौं, हामीले फूल चढाउनु छ—केवल शिक्षकलाई होइन, ती सबै अनुभवहरूलाई जसले हामीलाई बाँच्न, बदलिन र बलियो बन्न सिकाए। गुरु भनेको अनुहार होइन, अनुभूति हो। गुरु भनेको किताब होइन, जीवनकै गहिरो कथा हो। त्यसैले, जीवनकै हरेक मोडमा हाम्रा गुरुहरूलाई सम्झँदै, आजको दिन कृतज्ञता र आत्मबोधको दीप प्रज्वलन गरौँ।

No comments:
Post a Comment