Sunday, December 28, 2025

माटो मर्दै गर्दा नेपाली कृषि भविष्यको चिन्ता



 माटो जीवनको आधार हो । कृषि, वन, पानी र मानव अस्तित्व सबै माटोसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । तर आज नेपालमा यही आधार बिस्तारै ह्रास हुँदै गएको तथ्य हाम्रो अगाडि उभिएको छ । माटो ह्रास हुनु भनेको केवल जमिन बन्जर हुनु मात्रै होइन, यसको अर्थ माटोको उर्वराशक्ति, जैविक पदार्थ, सूक्ष्म जीवाणु र उत्पादन क्षमता क्रमशः नष्ट हुँदै जानु हो ।

नेपाल भौगोलिक रूपमा समग्र रुपमा पहाडी देश भएकाले यहाँको माटो प्राकृतिक रूपमा नै संवेदनशील छ । वैज्ञानिक अध्ययनअनुसार नेपालमा हरेक वर्ष ज्ञज्ञ देखि टद्ध टन प्रति हेक्टरसम्म माटो कटान भइरहेको छ । अझ चिन्ताजनक कुरा के छ भने, शीर्ष माटो ९त्यउकयष्०ि जुन बाली उत्पादनका लागि सबैभन्दा महत्वपूर्ण तह हो, त्यो पुनः बन्न सयौँ वर्ष लाग्छ तर हामी केही वर्षमै नष्ट गरिरहेका छौँ । अनुमान अनुसार नेपालमा वर्षेनी करिब ज्ञ।छ–द्द मिलिमिटर शीर्ष माटो हराइरहेको छ ।

देशको करिब १२ प्रतिशतभन्दा बढी भू–भाग माटो क्षयीकरणबाट गम्भीर रूपमा प्रभावित भइसकेको छ र हुनेछ। पहाड र हिमालमा पहिरो, तराईमा नदी कटान र तीव्र वर्षाका कारण माटो बगिरहेको छ भनेअत्यधिक खेती, रासायनिक मल तथा बिषादीको दुरुपयोग र जमिनको कडापन ९कयष् िअयmउबअतष्यल० का कारण माटोको जीवन शक्ति घट्दै गएको छ । म्ष्नष्तब िक्यष् िःबउ या ल्भउब िका अनुसार धेरै कृषि भूमिमा जैविक पदार्थको मात्रा २ प्रतिशतभन्दा कम छ, जुन स्वस्थ माटोका लागि अत्यन्तै न्यून स्तर मानिन्छ ।

माटोको उर्वराशक्ति मर्दै जानुका कारणहरू प्राकृतिक मात्र होइनन्, मानव गतिविधि अझ जिम्मेवार छन् । अनियन्त्रित वन फँडानी, अत्यधिक चरन, ढलानयुक्त जमिनमा वैज्ञानिक तरिका नअपनाई खेती गर्नु, बारम्बार गहिरो जोताइ, रासायनिक मल र विषादीको असन्तुलित प्रयोगले माटोको संरचना बिगारेको छ । उत्पादन बढाउने नाममा गरिने यस्तो अभ्यासले अल्पकालीन फाइदा दिए पनि दीर्घकालमा माटोलाई निर्जीव बनाउँदै लगेको छ ।

यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको छ । धान, मकै, गहुँ, तरकारी जस्ता मुख्य बालीको उत्पादन लागत बढ्दै गएको छ तर उत्पादन अपेक्षाअनुसार बढ्न सकेको छैन । माटो कमजोर हुँदा किसान मल र पानीमा अझ बढी निर्भर हुनुपरेको छ । यसले किसानको आम्दानी घट्नुका साथै लागत खर्च समेत बढेर खाद्य सुरक्षा र आत्मनिर्भरतामाथि चुनौती थपेको छ ।

 माटो उर्वरता हराउनुका पछाडि आधुनिक खेती मात्र होइन, परम्परागत अभ्यासहरूको लोप र अविवेकी हस्तक्षेप दुवै प्रमुख कारण बनेका छन् ।

पहिले गाउँ–घरमा खेतीपाती गर्दा स्याउला–सोत्तर, पात–पतिङ्गर, गोठे मल र फोहोर जैविक पदार्थ खेतमा ल्याएर माटोमा मिसाउने चलन थियो । यसले माटोमा जैविक पदार्थको मात्रा बढाउँथ्यो, गड्यौला प्रशस्त हुन्थे र सूक्ष्म जीवाणु सक्रिय रहन्थे । त्यही कारण माटो स्वाभाविक रूपमा उर्वर, खुकुलो र पानी धान्ने क्षमतायुक्त हुन्थ्यो ।

 पशुपालन तीब्र रूपले घटेसँगै गोबर, गोमूत्र, कम्पोस्ट मल को प्रयोग न्यून हुँदै गएको छ । यसको प्रत्यक्ष असर माटोमा देखिएको छ—

गड्यौला हराउँदै छन्, सूक्ष्म जीवाणुको संख्या घट्दै गएको छ, र माटोको जैविक चक्र कमजोर बनेको छ ।

यसको सट्टा किसानहरू अन्धाधुन्ध रासायनिक मलमा निर्भर हुन थालेका छन् । उत्पादन बढाउने नाममा युरिया, डीएपी, पोटासियम जस्ता मलको असन्तुलित प्रयोगले माटोमा तत्काल हरियाली त देखायो, तर दीर्घकालमा माटोलाई थकित बनायो । रासायनिक मलले जैविक पदार्थ पूर्ति नगर्ने भएकाले माटो क्रमशः कडा, निर्जीव र अम्लीय बन्दै गएको छ ।

ल्ब्च्ऋ माटो विज्ञ रोशन बाबु ओझा का अनुसार, “यदि हामीले आजैदेखि माटोको साह्रोपना घटाउने ठोस कार्यक्रम सुरु गरेनौँ र रोटाभेटरजस्ता भारी कृषि औजारको प्रयोगलाई अनुदानमार्फत अझै प्रोत्साहन दिँदै गयौँ भने, अबको १० वर्षभित्र हाम्रो खेतीयोग्य जमिनको माटो जर्जर अवस्थामा पुग्नेछ।” उहाँका अनुसार यस्तो अवस्था आएमा उत्पादन लागत बढ्नेछ, उत्पादन घट्नेछ र अन्ततः खाद्यान्न आयातमा निर्भरता झन् बढ्ने खतरा उच्च रहनेछ ।

अझ गम्भीर समस्या बनेको छ बिषादीको जथाभावी प्रयोग । किरा मार्ने नाममा प्रयोग गरिने बिषादीले हानिकारक किरा मात्र होइन, माटोमा रहेका उपयोगी जीवाणु, फफूँद र गड्यौला समेत नष्ट गरिरहेको छ । यसले माटोको प्राकृतिक रोग प्रतिरोध क्षमता घटाएको छ र किसान झन् बढी बिषादी प्रयोग गर्न बाध्य बनेका छन् — यो एक खतरनाक चक्र हो ।यी सबै कारणहरूले गर्दा आज नेपालमा माटो बिस्तारै आफ्नो उर्वराशक्ति गुमाउँदै गएको छ । उत्पादन घट्दै जानु, लागत बढ्नु, र किसान निराश हुनु र भावी सन्ततिहरु बैदेशिक पलायन हुनु यही प्रक्रियाको परिणाम हो ।

अब विकल्प स्पष्ट छ । माटोलाई पुनः जीवित बनाउन जैविक पदार्थको प्रयोग, पशुपालन र खेतीको एकीकरण, सन्तुलित मल–बिषादी प्रयोग, उचित सिँचाइ व्यवस्थापन र परम्परागत ज्ञानको पुनर्जीवन अपरिहार्य भइसकेको छ ।

अन्ततः, माटो बचाउनु भनेको केवल खेत बचाउनु होइन — यो भविष्यको पुस्ता, खाद्य सुरक्षा र देशको आत्मनिर्भरता बचाउनु हो । आज हामीले माटोलाई जोगाउन सकेनौँ भने भोलि माटोले हामीलाई धान्न सक्ने छैन ।

Wednesday, July 9, 2025

जीवन सिकाइ र सिकाइ नै गुरु हो।- ओम आचार्य

गुरु पूर्णिमा केवल एक पर्व होइन, यो त जीवनभरि गुरुहरूप्रति व्यक्त गरिने श्रद्धा, समर्पण र कृतज्ञताको प्रतीक हो। हामीले बाल्यकालदेखि नै विभिन्न रूपका गुरुहरूमार्फत ज्ञान प्राप्त गर्दै आएका छौँ—कहिले आमाबाबु, कहिले शिक्षक, कहिले आत्मा चेतनामा बोल्ने अनुभूति, त कहिले निराकार प्रकृति। वास्तवमा जीवनको प्रत्येक अंश, प्रत्येक पात्र, प्रत्येक अनुभव आफ्नै किसिमको गुरु हो। 

जिन्दगी पनि थोपाथोपा मिलेर बनेको समुद्र जस्तै हो। साना–साना घटनाहरू, अनुभवहरू, सम्वादहरू, र भावनाहरू मिलेर जिन्दगीको विशाल समुन्द्र निर्माण हुन्छ। कुनै पनि सागर केवल एकै धारा वा श्रोतले बनेको हुँदैन। त्यहाँ सयौं नदी, साना खोल्सा र अनगिन्ती थोपा मिसिएका हुन्छन्। ठिक त्यस्तै, हाम्रो जीवनमा पनि प्रत्येक दिन, प्रत्येक व्यक्ति, प्रत्येक अवस्था गुरुजस्तै बन्छ, जुन हामीलाई आफूभित्र झुल्काउने ऐना हो। जीवनको प्रारम्भमा हामी बुझ्दैनौँ कि यो सबै कुरा सिकाइको हिस्सा हो। तर जब समय बित्दै जान्छ, उमेर बढ्दै जान्छ, तब हरेक क्षण, हरेक व्यक्तिको महत्त्व प्रस्ट हुँदै जान्छ। हामी मान्छेहरू आदर्श खोज्छौँ। आदर्श व्यक्तिमा ज्ञान, नैतिकता, अनुशासन र प्रेम देख्छौँ। तर आदर्शलाई पूर्णरूपमा पछ्याउनु सधैं सम्भव हुँदैन। किनभने कुनै पनि व्यक्ति पूर्ण हुँदैन, हामी आफैं पनि पूर्ण छैनौं। कहिलेकाहीं हामी आफैं दिग्भ्रमित हुन्छौं, हाम्रो मूल्य–मान्यतामा प्रश्न उठ्छ, अनि हामीले पछ्याइरहेका आदर्शहरूमा पनि कमजोरी देखिन्छ। यसैले गुरु भन्ने केवल कुनै विशिष्ट व्यक्ति मात्र होइन, एउटा सोच, एक प्रेरणा, एक अनुभूति हो। जसले हामीलाई अगाडि बढ्न मद्दत गर्छ।

छोटो बाल्यकालमा हामीलाई लाग्छ गुरु भनेको कक्षाकोठामा पढाउने सर वा मिस हुन्। तर समयसँगै हामी बुझ्दै जान्छौँ कि प्रकृतिको मौनता, आमाको माया, बाबुको पसिना, साथीको विश्वासघात, र सन्नाटामा सुन्ने आफ्नै मनको आवाज पनि गुरु हुन सक्छन्। मानवले लेखेका पुस्तकहरू समेत यही मानवीय कमजोरी र ज्ञानको समष्टि हुन्। ती पुस्तकहरू पनि गुरुकै रूपमा काम गर्छन्। तर तिनिलाई मात्र गुरु मानेर अडिनु हुँदैन। प्रकृति सबैभन्दा मौन तर गहिरो गुरु हो। बग्ने नदीले निरन्तरता सिकाउँछ, मौन आकाशले धैर्य, सूर्यले नियमितता, फूलले निस्वार्थता र नम्रता, आँधीले क्रोधको सीमा सिकाउँछ र वयस्क हुँदै गरेका बालबालिकाले नवनवीन सोचको जन्म दिने क्षमता सिकाउँछन्। ती पाठहरू कुनै किताबमा छैनन्, तर आत्मामा टाँसिने गरी सिकाइरहेका हुन्छन्। अनि बालबालिका—जसलाई हामी ’साना’ ठान्छौं, उनीहरूको निष्कलंक हाँसो, साहसिक जिज्ञासा र सत्य बोल्ने सरलता नै हाम्रो लागि गहिरो शिक्षा हुन्छ।

बालबालिका त एक प्रकारले हाम्रो जीवनका गुरु नै हुन्। उनीहरूको निष्कलंक व्यवहार, निःस्वार्थ प्रेम, सत्य बोल्ने साहसले हामीलाई बारम्बार सिकाइरहेको हुन्छ। उनीहरूलाई हामी शिक्षित गरिरहेका हुन्छौं जस्तो लाग्छ तर वास्तवमा उनीहरूकै साथमा हामी पनि नयाँ सिकिरहेका हुन्छौं। गुरु पूर्णिमाको अवसरमा हामीले जीवनलाई एक गुरुका रूपमा स्वीकार गर्नु आवश्यक छ। किनभने हाम्रो जीवन नै गुरुहरूको समष्टिगत रूपको दीर्घ दृष्टान्त हो। प्रत्येक संघर्ष, असफलता, सफलताका बीचमा एक–एक अनुभूति लुकेको हुन्छ, जुन हाम्रो जीवन शिक्षाको पाठशाला बनिरहेको हुन्छ।अन्ततः गुरु भनेको केवल पाठ पढाउने मात्र होइन, जीवनलाई बुझ्ने, अनुभूति गर्ने, आत्मा स्पर्श गर्ने, र परिवर्तन ल्याउने क्षमता राख्ने स्रोत हो। चाहे त्यो मानव होस्, प्रकृति होस् वा हाम्रो अन्तर आत्मा नै किन नहोस्—गुरुको अस्तित्व हाम्रा प्रत्येक चेतनशील पलमा व्याप्त छ।

यस गुरु पूर्णिमामा सबै गुरुहरू—जीवनका, शिक्षाका, आत्माका र प्रकृतिका प्रति नमन गरौँँ किनभने तिनै गुरुहरूको कारण आज हामी जीवन बुझ्न सक्षम भएका छौँ। जीवन जिउनु भनेको सिकिरहनु हो, र जहाँ सिकाइ हुन्छ, त्यहाँ गुरुत्वको अस्तित्व अवश्य हुन्छ। गुरु पूर्णिमा भनेको केवल श्रद्धा पोख्ने क्षण होइन, यो आत्म प्रतिबिम्बको दिन हो। आफूलाई हेर्ने, आफूलाई सुधार्ने, र आफूभित्रै बसेको गुरु–तत्वलाई पहिचान गर्ने समय हो। हामीलाई पढाउने, हकार्ने, सिकाउने, प्रेम गर्ने, टाढा जाने, चोट दिने सबै मानिसहरू सबै कुनै न कुनै रूपका गुरु नै हुन्।आज, जब हामी गुरु पूर्णिमा मनाउँछौं, हामीले फूल चढाउनु छ—केवल शिक्षकलाई होइन, ती सबै अनुभवहरूलाई जसले हामीलाई बाँच्न, बदलिन र बलियो बन्न सिकाए। गुरु भनेको अनुहार होइन, अनुभूति हो। गुरु भनेको किताब होइन, जीवनकै गहिरो कथा हो। त्यसैले, जीवनकै हरेक मोडमा हाम्रा गुरुहरूलाई सम्झँदै, आजको दिन कृतज्ञता र आत्मबोधको दीप प्रज्वलन गरौँ।


Monday, June 23, 2025

ओम आचार्यको कविता "बलिदानकाे थाल"



बलिदानकाे थाल

त मरेको दिन —

खस्सी ढल्नेछ,

घन्टी नबजाई —

रगत पोखिनेछ चोकमा।


त मरेको दिन —

कसैले फूल चढाउनेछ,

अरूको शवमाथि उभिएर

भजन गाउनेछ।


तर त–

आफै मरेर पनि

अरूको वध किन गर्छस्?


किन बनाउँछस् त्यो थाल

जहाँ अरूको पीडा सजिन्छ?


किन लेख्दछस् कथा

जहाँ बलिदान सधैं अरूको हुन्छ?


कसैको चिच्याहट

कसैको अन्तिम सास

कसरी भुल्न सक्छस्

जब त– मर्ने मान्छे हो।

Monday, November 28, 2022

ओम आचार्यको‌ कविता " डरका डोरीहरू"


डरका डोरीहरू

खोलाको बर्खे बालुवा 

रोक्ने छेक्ने डोरी 

कति बोकिरहेछु

डर छ ती बर्खे

बालुवाका कणले

भित्र रहस्य नै

रहस्य भित्रको 

त्यो अतृप्ती डोरी कहिले

पुरीदीन्छ थाहा छैन

तर एक दिन अवश्य

तोड्नेछ डोरी र पुर्नेछ

बालुवाका कणले

र लोप हुनेछ म संगै

मेरा डर!

Tuesday, July 5, 2022

ज्ञान भनेको किताबमै पाइन्छ !


 
ज्ञान भनेको किताबमै पाइन्छ !

‘तँ यत्तिका कुरा पढिरहेको हुन्छस्, एउटा स्तम्भ लेखे हुन्छ नि,’ धेरैअघि मलाई मेरो दाइले सुझाएको थियो। म फिस्स हाँसेको थिएँ। स्वान्त सुखायका लागि पढेका कुरा ढ्वाङ फुक्नु ? अँहँ, यो त हुनै सक्तैन।

लौ मानेँ, कहिलेकाहीँ घमण्डले फुलेल भएर घोषणा नै गरेँ, मैले फलानो–फलानो पुस्तक पढेँ। त्यसो गरेपछि के हुन्छ र ? अनि मेरा गन्थन कसले सुन्दो हो र ? त्यस्ता गन्थन कसलाई काम लाग्दो हो ?

यस्तै सोचका कारण मैले कहिल्यै पनि पढेका कुरा टिपोट गर्ने, कतै लेख्ने जमर्को गरिनँ। बरु मलाई पढेका कुरा बिर्सिइन मञ्जुर भयो तर कतै केही टिपोट लेखिनँ। 

त्यसै पनि चिट बनाउने बानी ममा कहिल्यै बसेन, न niत स्कुलमा न त कलेज पढ्दाताका नै। बरु मलाई नम्बर बढी चाहिएन, मैले अड्डी नै कसेको थिएँ। एक पटक मैले दैनिकी लेख्न थालेको थिएँ तर त्यसमा मैले इमानदारी देखाउन नसकेपछि त्यो पनि छाडिदिएँ। जब म कतिपय कुरामा आफैँलाई छलिरहेको हुन्छु, त्यो पनि दैनिकी लेख्दा भने किन टिप्ने ? बरु ती सबै कुरा मलाई बिर्सिइन मञ्जुर छ, डायरी र कलमलाई धोका दिन मञ्जुर छैन।

सारा कुरा फेसबुकले बिगारिदियो। अफिसमा, घरमा, हातमा जताततै फेसबुक भएपछि भने किताब वा कुनै कुरा नलेख्ने मेरो अडानले धोका खायो। त्यसपछि नै हो, मैले केही साना–तिना टिप्पणी फेसबुकमा लेख्न थालेको। खासमा मैले त्यहाँ लेख्नु भनेको दिमाग नपाकोस्, मनमा उठेका कुरा निचोरेर त्यही फ्याँकिदिऊँ भनेर नै हो। हुन त सबैले त्यहाँ गर्ने त्यही हो। साराका सारा कुण्ठा, आक्रोश त्यहाँ पोखिनुको कारण पनि त्यही त हो !

सामान्यतः फेसबुकमा मेरा टिप्पणी पढेर प्रतिक्रिया जनाउने धेरै हुनुहुन्छ। खासमा फेसबुकमा लाइक वा रियाक्ट नगरे पनि भेटका बेला मेरा प्रसंग सुनाएर मलाई नै लज्जित बनाउनेहरु पनि हुनुहुन्छ। यसपछि मैले सोचेँ, प्रत्यक्ष प्रतिक्रिया नआए पनि लेखेका कुरा कसैले न कसैले पढिरहेकै हुन्छ, गुनिरहेकै हुन्छ। मेरो सानो टिप्पणीले कसैलाई कहीँ कतै प्रभाव परिरहेको हुन्छ भने त्यसो किन नगर्ने ?

‘अब त लेखौँ कि क्या हो ?’ एक दिन मैले दाइलाई सुनाएँ। उसले भन्यो, ‘तेरो स्तम्भको नाउँ सुझाइदिऊँ ?’ 
मैले प्रश्नवाचनक अनुहारले उसलाई हेरेँ। उसले भन्यो, ‘ज्ञान भनेको किताबमै पाइन्छ !’
ओहो, भारीभरकम स्तम्भ भएन र ?
०००
ज्ञान केमा पाइन्छ भनेर कसैले सोध्यो भने सायद उत्तरमा आउला, किताबमा। मेरो अनुभवले भन्छ– ज्ञान तीन किसिमले पाइन्छ। मैले गौतम बुद्धको जस्तो ध्यानबाट प्राप्त हुने तत्वबोधी ज्ञानको कुरा गरिरहेको छैन। मेरो किसिमको ज्ञान पहिलो– किताब पढेर, दोस्रो– संगत गरेर अनि तेस्रो– यात्रा गरेर पाउने अनुभव छ।

किताब पढेर पाइने ज्ञान सबैभन्दा कमसल हो। संगत (अवलोकन) गरेर पाइने ज्ञान उत्तम हो। अनि यात्रा गरेर पाइएको ज्ञान सर्वोत्तम ज्ञान हो। मैले यी तीनवटै माध्यमबाट पाएको अनुभवका आधारमा यो भन्दैछु। फेरि यी एकअर्कामा निश्रित छन्। सबै मान्छे यात्रामा जान सक्तैन। सबैमा अवलोकनको क्षमता हुँदैन। सबैले किताब पढ्न सक्तैनन्। 
अब यत्तिका कुरा उठिसकेपछि मेरा किताबी अनुभवका बारे गढेको कुरा किन नगरुँ !
०००
साउने झरी केही दिनदेखि झरिरहेकै थियो। भैँसी गोठमा पानीको भल छिरेको थियो। आखिर पानी पनि जाओस् कता ? बाटोमा पानी, कुलोमा पानी, घरभित्र पानी, बाहिर पानी, समग्रमा सर्वत्र पानी नै पानी थियो। केही दिनमा पानी त घट्यो तर हाम्रो घरमा भैँसीले आहाल बनाएकोे ठाउँमा घटेन। त्यो यति ठूलो खाडल बन्न पुग्यो कि पानी फ्याँक्दा पनि खाल्डो भने रहिरह्यो। 

अब त्यहाँ माटो हालियो। ढुंगा, इँटा, काठका लकडी आदि हालेर भरियो। भैँसीले फेरि त्यहाँ खाडल बनाइहाल्थ्यो। विचरो, भैँसीको पनि के दोष ? ठाउँ नै त्यस्तो थियो कि खाडल भइहाल्थ्यो। 

आमालाई यति झ्वाँक चल्यो कि घरभरिका किताब बोरामा बाँध्नुभयो र त्यही खाल्डोमा हाल्दिनुभयो। 

हामी निकै साना थियौँँ। बा बितेको केही वर्ष भएको थियो। हामी चार सन्तान थियौँ। सरसहयोग गरिदिने कोही थिएनन्। केही दिनदेखि खाल्डो भर्ने उपक्रममा एउटै मात्र सहयोगी सायद त्यही किताब हुन सक्थ्यो। मैले किताबको त्यो तहको ‘उपयोगिता’ अहिलेसम्म देख्न पाएको छैन।

त्यो बेला किताब हाम्रो प्राथमिकतामा थिएनन्। त्यसैले यसमा हाम्रो आपत्ति केही थिएन। अरु बेला भए किताबलाई ढोग्नुपथ्र्यो तर यो बेला किताबलाई हिलोमा हालेर गोडाले नै मिलाउन मिल्ने छुट पाइएको थियो। हामी रमाएका थियौँ।

अहिले मलाई त्यो घटना सपना हो कि विपना जस्तो लागिरहन्छ। आमाले त्यत्रा किताब किन खाडलमा पुर्नुभयो अनि के अर्को वर्षदेखि खाडल पर्न छोड्यो ? अहिले सम्झँदा यो एउटा भयानक घटना लाग्छ। जसरी ईशापूर्व दोस्रो शताब्दीमा चीनको सम्राट चिङ सि हुआङले देशभरिका सारा किताब जलाउने आदेश दिएजस्तै, नालन्दा विश्वविद्यालयका ९० लाख किताब जलाइएजस्तै हाम्रो घरका सारा किताब गाडिए, भैँसीगोठमा।
०००
‘विगत व्यर्थ हो, इतिहासको कुनै सान्दर्भिकता छैन,’ चिनियाँ सम्राट चिङ सि हुआङले घोषणा मात्र गरेको थिएन, चार सयभन्दा बढी विद्वानहरुलाई एकै चिहान बनाएको थियो। उसले हजारौँ पुस्तकहरु आगोमा स्वाहा बनाइदिएको थियो।

आमालाई लाग्यो होला, असमयमै स्वर्गे भएका दिंवगत पतिका विगत सम्झाउने सारा किताब व्यर्थ हो, तिनको कुनै सान्दर्भिकता छैन। अथवा हुनसक्छ, पञ्चायत काल थियो। त्यस कालमा ती किताब देखेर प्रशासन वक्र पनि हुनसक्छ। खतराका सूचक ती किताबको उचित व्यवस्थापन भैँसीगोठ नै हुनसक्छ। अथवा, भविष्यमा छोराछोरी तिनका बाउको जस्तो पढेर मगज नखुस्कियोस् भन्ने भयले पनि काम गरेको हुनसक्छ।

अहिले आएर मलाई भैँसीको आहालमा हालिएका बोराका बोरा पुस्तकले ऐंठनमा पारिरहन्छन्। त्यो भयानक दृश्यले घरिघरि सताइरहन्छ।
०००
जब क्रिश्चियनहरुको दबदबा बढ्न थाल्यो, उनीहरुले पनि संसारकै भव्यतम पुस्तकालय जलाएकै हुन्। ‘नयाँ युग, नयाँ संसारमा पुराना ज्ञानको के कुरा ?’ यस्तै केही नारा तिनले लगाएका हुँदा हुन्।

पुस्तकप्रति थाहा छैन किन यत्ति धेरै द्वेष हुन्छ मान्छेलाई, उसले पहिलो आगो त्यहीँ झोस्छ। जब उत्तरबाट लुटपाटको उद्देश्यले भाइकिङहरु ब्रिटानिया घुसेका थिए, तिनले पनि त्यहाँ बडो दुःख गरेर फ्रान्सिया, भ्याटिकन, फ्लोरेन्सबाट भेला पारिएका दुर्लभ पुस्तकलाई पनि तारो बनाएका थिए।

कुमार गुप्त प्रथमले बडो दुःखले स्थापना गरेको नालन्दा विश्वविद्यालयलाई सन् ११९३ मा टर्कीबाट आएका बख्तियार खिलजी र उनका विध्वंसीहरुले पनि आगो झोस्ने ठाउँ त्यहीँको पुस्तकालय देखे। त्यो आगोमा करिब ९० लाख पुस्तक जलेर ध्वस्त भएको आँकलन छ। 

जब–जब म कुनै किताबको बिजोग देख्छु, मलाई चिङ राजवंशका पुस्तक जलाउने सम्राट याद आउँछ, नालन्दा जलाउने खिलजीको सम्झना हुन्छ। यस्ता चिङ र खिलजी अहिले पनि कम छैनन्। देशमा ज्ञानको उपेक्षा, अध्ययन प्रतिको विरक्ति, पुस्तकमाथिको कर, हराउँदै जान थालेका पुस्तक पसल, कसैको निजी संकलनमा रहेका किताबको रेखदेख हुन नपाएर सड्न र मक्किन थालेका पुस्तक, सबै सबैले मलाई खिलजी र चिङको सम्झना दिलाउँछन्।
अहिलेको समयमा पनि हामीमाझ एउटा सिङ्गो मध्ययुग बाँचिरहे जस्तो लाग्छ।

Saturday, October 9, 2021

गौतम बुद्धको केही भनाईहरु



 हामी गौतम बुद्धको गुणगाण गाउछौं । बुद्धको जन्मप्रति गौरव गर्छौं । तर, बुद्धले जुन मार्गदर्शन गरे, त्यो बाटोमा हिँड्ने प्रयास भने गर्दैनौं । वास्तवमा भगवान बुद्धले आफुलाई पूज्य बनाउका लागि कुनै उपदेश दिएका थिएनन् । खासमा त्यो कुरालाई सम्पूर्ण मानव जातिले सुन्नेछन्, बुझ्नेछन् र आफ्नो जीवनमा उपयोग गर्नेछन् भन्नका खातिर उनले बुद्ध दर्शनको प्रतिपादन गरेका थिए । अतः यहाँ उनको अनमोल बचनहरु प्रस्तुत गरिएको छ ।

थत

–    स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । बफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।


–    तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य ।


–    आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर ।


–    घृणा, घृणाले होइन प्रेमले अन्त्या हुन्छ । यो शाश्वत सत्य हो ।


–    बिना स्वास्थ्य जीवन, जीवन होइन । केवल एक पीडाको स्थिती हो । मृत्युको छवी हो ।


–    हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।


–    सत्यको मार्गमा चलिरहेको व्यक्तिले केवल दुई गल्ती गर्न सक्छन् । एक, पुरा बाटो तय नगर्ने । अर्को, यसको सुरुवात पनि नगर्ने ।


–    चाहे तिमी जतिसुकै पवित्र शब्द पढ वा बोल । त्यसले तिमीलाई के भलो गर्छ, जबसम्म त्यसलाई उपयोग गर्दैनौं ।


–    इच्छा कहिल्यै अन्त्य हुँदैन । यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ ।


–    शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ । यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ ।


–    अज्ञानी मानिस एक बेल समान हुन् । उनी ज्ञानमा होइन, आकारमा बढ्छ ।


–    इष्र्या र गुनासोको आगोमा जलिरहेका मानिसमा खुसी र हासोको स्थान हुनसक्दैन । यदि तपाई अध्याँरोमा डुबिरहनुभएको छ भने, उज्यालोको खोजी किन गर्नुहुँदैन ?


–    एक जागेका व्यक्तिलाई रात निकै लामो लाग्छ, एक थकित व्यक्तिलाई गन्तव्य धेरै टाढा लाग्छ । यसै किसिमले सच्चा धर्मबाट बेखबर मूखका लागि जीवन-मृत्युको सिलसिला उत्तिनै लामो लाग्छ ।


–    खासमा जो गुनासोयुक्त विचारले मुक्त हुन्छन्, उनको जीवनमा शान्ति मिल्छ ।


–    अतितमा ध्यान केन्दि्रत नगरौं, न भविष्यका लागि सपना देख्नु । बरु आफुलाई वर्तमानमा केन्दि्रत गरौं ।


–    म कहिल्यै देख्दिन के गरियो । म केवल यो देख्छु कि, के गर्न बाँकी छ ।


–    मन पनि मानसिक अवस्थाभन्दा माथि हुन्छ ।


–    तपाई आफ्नो रिसको कारण दण्डित हुनुभएको छैन । तपाई आफ्नो रिसद्वारा दण्डित हुनुभएको छ ।


–    मन सबैथोक हो । जसरी तिमी सोच्छौं, त्यस्तै बन्छ ।


–    सबै व्यक्तिलाई सजायदेखि डर लाग्छ । सबै मृत्युदेखि डराउँछन् । बाँकी व्यक्ति तथा प्राणी पनि तिमीजस्तै हो । कसैलाई दुख नदेउ, कसैलाई नमार ।


–    सबै नराम्रो कुराबाट टाढा रहनका लागि राम्रो कुराको विकास गरौं । आफ्नो मनमा राम्रो विचार राखौं ।


Sunday, July 25, 2021

खगोलविद्हरुले पत्ता लगाए नयाँ खोज

 #खगोलविदहरुले इतिहासमै पहिलो पटक एउटा_ग्रह को वरिपरि चन्द्रमा बन्ने डिस्क (Moon-forming disk) फेला पारेका छन ।खगोलविदहरुले हाम्रो सौर्य मण्डल बाहिरको ग्रह अर्थातसूर्य भन्दा अन्य तारालाई परिक्रमा गर्ने ग्रहको वरिपरि यो चन्द्रमा (उपग्रह) बन्ने धुलो र ग्यासको बादलको डिस्क फेलापारेका हुन । यसको खोजी क्रता ग्रनोबल युनिभर्सिटी र चिली युनिभर्सिटीका खगोलशास्त्रीहरुले भने " हाम्रो कामले सायद एउटा नयाँ चन्द्रमा( उपग्रह) को गठन भैरहेको डिस्कको स्पष्ट पहिचानक प्रस्तुत गर्दछ । हाल सम्म खगोलशास्त्रीहरुले विभिन्न ताराहरु परिक्रमा गर्ने ४०००भन्दा धेरै ग्रह हरुको खोजी गरिसके छन । त्यसै गरि हाम्रो पृथ्वी देखि 400 प्रकाश बर्ष टाढा PDS 70 नामको तारालाई 2 वटा ग्रहहरु PDS70 b र PDS 70c नामको ग्रहहरुले परिक्रमा गर्छन, भने PDS 70bग्रह भर्खरै बन्दै गरेको सुरुवाती ग्रह हो ।जसमध्ये PDS 70c ग्रह को वरिपरि शनि ग्रहको रिङ भन्दा 500 गुणा ठुलो डिस्कले घेरेको छ । वैज्ञानिकहरुले टाढा टाढाको धेरै तारामा ग्रहहरु बन्ने डिस्क प्रशस्त मात्रा फेला पारेका छन तर यो कुनै ग्रहको वरिपरि चन्द्रमा बन्ने डिस्क फेला परेको भने पहिलो पटक हो । ती 2 ग्रहहरु हाम्रो बृहस्पति र शनि ग्रह संग मिल्दो जुल्दो छन । वैज्ञानिकहरुका अनुशासन उक्त ग्रहको वरिपरि भएको डिस्क हाम्रो पृथ्वीको चन्द्रमा को आकारका तिन वटा चन्द्रमा ( उपग्रह) गठन गर्न सक्ने बराबर को पर्याप्तमात्र डिस्क भएको जनाएका छन । खगोलशास्त्रीहरुले यी 2 वटा ग्रह र एउटा ग्रहको वरिपरि चन्द्रमा बन्दै गरेको डिस्को अध्यन उत्तर चिलिको मरुभूमिमारहेको युरोपिएन बेधशाला (ESO) को मिलीलीटर सबमिलिमिटर एरे ( ALMA) को प्रयोग बाट गरेका हुन ।


माटो मर्दै गर्दा नेपाली कृषि भविष्यको चिन्ता

 माटो जीवनको आधार हो । कृषि, वन, पानी र मानव अस्तित्व सबै माटोसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । तर आज नेपालमा यही आधार बिस्तारै ह्रास हुँदै ...